अनलाइनमा देखिने कुरालाई कसरी नियन्त्रणमा राख्ने (How to take control of what you see online)
हरेक पटक तपाईं अनलाइन हुँदा, तपाईंले हेर्ने कुरामा अल्गोरिदमले प्रभाव परिहेको हुन्छ। यसले तपाईंलाई बिस्तारै 'इको चेम्बर' तिर धकेल्न सक्छ। इको चेम्बर भनेको त्यस्तो ठाउँ हो जहाँ तपाईंले समान किसिमका जानकारी वा सामग्रीहरू मात्र बारम्बार सुन्न र देख्न सक्नुहुन्छ।
यस्तो हुनबाट रोक्ने क्षमता तपाईंसँग छ।
अल्गोरिदम भनेको के हो?
जब तपाईं इन्टरनेट प्रयोग गर्नुहुन्छ, त्यहाँ अल्गोरिदम भनिने एक विशेष प्रकारको कम्प्युटर प्रोग्राम चल्छ र त्यसले तपाईंलाई के देखाउने भन्ने कुराहरु छनौट गर्छ।
सर्वप्रथम, अल्गोरिदमले तपाईंले अनलाइनमा के के गर्नुहुन्छ त्यो सबै हेर्छ, उदाहरणका लागि:
- तपाईंले हेर्ने भिडियोहरू
- तपाईंले खेल्ने गेमहरू
- तपाईंले हेर्ने पोस्टहरू
- तपाईंले खोजी गर्ने कुराहरु।
त्यसपछि अल्गोरिदमले तपाईंलाई त्यस्तै प्रकारका थप सामग्रीहरु देखाउन थाल्छ।
उदाहरणका लागि, यदि तपाईंले युट्युब मा एउटा बिरालोको भिडियो हेर्नुभयो भने, अल्गोरिदमले तपाईंलाई अरू बिरालाका भिडियोहरू देखाउन थाल्छ।
कहिलेकाहीँ किन अल्गोरिदम तपाईंको लागि नराम्रो हुन सक्छ?
अल्गोरिदम भनेको एउटा कम्प्युटर प्रोग्राम हो, कुनै व्यक्ति होइन। यसले तपाईंको लागि के राम्रो वा नराम्रो हुन्छ भन्ने कुराको वास्ता गर्दैन। कहिलेकाहीँ, यसले निम्न कार्यहरू गर्न सक्छ:
- तपाईंलाई बारम्बार एउटै किसिमका कुराहरू देखाउने
- तपाईंको ध्यान खिच्नको लागि तपाईंलाई निराशाजनक वा स्तब्ध पार्ने कुराहरू देखाउने
- अनलाइनमा धेरै समय बिताउन तपाईंलाई अल्झाई राख्ने।
एपहरूले तपाईंलाई लामो समयसम्म अनलाइन राख्न अल्गोरिदम प्रयोग गर्छन्। यसो गर्नुको एउटा कारण भनेको जब तपाईं लामो समयसम्म अनलाइन बस्नुहुन्छ, तपाईंले धेरै विज्ञापनहरू हेर्नुहुन्छ - र जब तपाईंले धेरै विज्ञापनहरू हेर्नुहुन्छ, एपले धेरै पैसा कमाउँछ।'
इको चेम्बर भनेको के हो?
अनलाइनबाहेकको वास्तविक जीवनमा, इको चेम्बर भनेको त्यस्तो ठाउँ हो जहाँ तपाईंले एउटा ध्वनि बारम्बार दोहोरिएको सुन्नुहुन्छ।
अनलाइनमा, यदि कसैले तपाईंलाई तपाईं इको चेम्बरमा हुनुहुन्छ भन्छ भने, उनीहरूको मतलब अल्गोरिदमले इको चेम्बरको जस्तै काम गरिरहेको छ किनभने यसले तपाईंलाई एउटै प्रकारको सामग्रीहरू मात्र बारम्बार दोहोराएर हेर्न र सुन्न बाध्य पार्छ।
प्रायः अनलाइन इको चेम्बरको अनुभव किन नकारात्मक हुन्छ?
अनलाइन इको चेम्बरमा मानिसहरूले:
- कुनै पनि कुराको एउटा पक्ष मात्र देख्छन्
- अन्य विचारहरूलाई बेवास्ता गर्छन्
- फरक विचार भएका मानिसहरूलाई बुली गर्ने वा असभ्य व्यवहार देखाउने गर्छन्
- तपाईंलाई हुनुपर्ने भन्दा नराम्रो भएको जस्तो महसुस गराउँछन्
- अफवाह र गलत जानकारी प्रदान गरेर तपाईंलाई असत्य कुराहरूमा विश्वास गर्न बाध्य पार्छन्।
उदाहरणका लागि, अनलाइन इको चेम्बरहरूमा रहेका मानिसहरूले आफूभन्दा फरक व्यक्तिहरूको समूहका बारेमा अनुचित कुराहरू भन्न सक्छन्, जस्तै:
- अन्य देशका मानिसहरूका बारेमा
- महिलाहरुका बारेमा
- अपाङ्गता भएका व्यक्तिहरूका बारेमा
- आफूजस्तै नसोच्ने मानिसहरूका बारेमा।
तपाईं इको चेम्बरमा भएको संकेतहरू
- तपाईंले एउटै प्रकारका पोस्टहरू बारम्बार देख्नुहुन्छ।
- तपाईं सौन्दर्य वा फिटनेस सम्बन्धी सुझावहरू खोज्नुहुन्छ र अचानक तपाईंले धेरै त्यस्ता भिडियोहरू देख्नुहुन्छ जसले तपाईंलाई अरू मानिसहरूसँग तुलना गर्न बाध्य पार्छ। तपाईंलाई 'एकदमै सुन्दर वा तन्दुरुस्त' हुनुपर्ने दबाब महसुस हुन सक्छ।
- तपाईंले त्यस्ता पोस्टहरू देख्नुहुन्छ जसले तपाईंलाई धेरै विश्वस्त पारे जस्तो देखाउँछ तर सामान्यतया भरपर्दो स्रोतहरू मार्फत तथ्यहरूको चित्तबुझ्दो तरिकाले पुष्टि गरिएका हुँदैनन्।
म अनलाइन इको चेम्बरबाट कसरी बाहिर निस्कन सक्छु?
तपाईंले गर्न सक्ने केही कुराहरू यहाँ छन्:
- तपाईंको हेरेको इतिहास (watch history) वा खोजेको इतिहास (search history) मेटाउनुहोस्।
- विभिन्न जानकारी र धारणाहरू विश्वसनीय वेबसाइटहरूबाट खोज्नुहोस् जस्तै:
- सरकारी वा सहायता सेवाहरू
- प्रतिष्ठित समाचार वितरण केन्द्रहरू - सामान्यतया धेरै फरक फरक प्रकारका व्यक्तिहरूले हेर्ने गरेका
- त्यस्ता ठाउँहरू जहाँ मानिसहरूले विभिन्न प्रकारका विचार र धारणाहरू पोस्ट गर्छन् - केवल तपाईंले सधैं देख्नेहरू मात्र होइन।
- केही समूहका मानिसहरूलाई नराम्रो वा असभ्य लाग्ने भिडियो वा पोस्टहरूमा 'not interested' वा 'see less of this' मा ट्याप गर्नुहोस्।
- धेरै रिस उठाउने वा अतिवादी लाग्ने कुराहरू पोस्ट गर्ने मानिसहरूलाई अनलाइनमा अनफलो वा म्यूट गर्नुहोस्।
- अनलाइनबाट विश्राम पनि लिने गर्नुहोस्।
अनलाइनमा भएका कुनै कुराले मलाई चिन्तित बनायो भने मैले के गर्ने?
यो बुझ्नु महत्त्वपूर्ण छ कि तपाईं जतिसुकै उमेरको भएता पनि, यदि तपाईंलाई अनलाइनमा हानि पुगेको अनुभव छ भने तपाईंले सहयोगको लागि सम्पर्क गर्नुपर्छ - चाहे तपाईं १६ वर्ष मुनिको हुनुहुन्छ र यो उमेर-प्रतिबन्धित सामाजिक सञ्जाल प्लेटफर्म मा घटेको घटना किन नहोस्। यदि तपाईंसँग अझै पनि सामाजिक सञ्जाल खाता छ भने पनि तपाईं समस्यामा पर्नुहुने छैन।
यदि तपाईं अनलाइनमा भएको कुनै कुरा वा कसैको बारेमा अनिश्चित हुनुहुन्छ, वा तपाईं तनावग्रस्त, दबाबग्रस्त, भ्रमित, बिरामी वा असुरक्षित महसुस गर्नुहुन्छ भने, तपाईंले निम्न कुराहरू गर्न सक्नुहुन्छ:
- यसबारे निम्न विश्वसनीय वयस्कसँग कुरा गर्नुहोस्:
- आमाबाबु वा काकी
- हेरचाहकर्ता
- शिक्षक
- प्रशिक्षक
- सामुदायिक सहायताकर्ता।
- किड्स हेल्पलाइन (Kids Helpline) (५ देखि २५ वर्ष उमेरका लागि) जस्ता परामर्श तथा सहायता सेवा लाई 1800 55 1800 मा वा www.kidshelpline.com.au मा सम्पर्क गर्नुहोस्। यो नि:शुल्क, गोपनीय र २४/७ कुराकानी गर्न उपलब्ध छ।
- नक्कली तस्बिर वा भिडियोहरू (विशेष गरी यदि यौनजन्य सामग्री भएमा) लगायत हानिकारक वा गैरकानूनी सामग्री तपाईंले देख्नुभएकै प्लेटफर्ममा रिपोर्ट गर्नुहोस्। ईसेफ्टी (eSafety) निर्देशिकामा विभिन्न मञ्च, एप र वेबसाइटहरूमा प्रेषित हानिकारक सामग्री बारे कसरी उजुरी दर्ता गर्ने भन्ने बारे चरणबद्ध सल्लाह उपलब्ध छ।
- यदि प्लेटफर्मले सहयोग गरेन भने, eSafety.gov.au/report मार्फत ईसेफ्टी (eSafety) लाई रिपोर्ट गर्न सकिन्छ/सकिन्न त्यसको बारेमा बुझ्न कसैको सहयोग लिनुहोस्। ईसेफ्टी (eSafety) ले साइबरबुलिङ, वयस्क साइबर दुर्व्यवहार र तस्विर-आधारित दुर्व्यवहार (देखाइएको व्यक्तिको सहमति बिना अन्तरंग तस्बिरहरू साझा गरिदिने, वा साझा गरिदिने धम्की दिने), का साथै अवैध र प्रतिबन्धित सामग्रीको अनुसन्धान पनि गर्न सक्छ।
- कमेन्टहरू म्यूट गर्न र तपाईंलाई दबाब वा डराउन दिने जो कोहीको सम्पर्कलाई सीमित गर्न आफ्नो गोपनीयता तथा सुरक्षा सेटिङहरूको प्रयोग गर्नुहोस् - प्लेटफर्ममा रिपोर्ट गरेपछि तपाईंले उनीहरूलाई ब्लक पनि गर्न सक्नुहुन्छ।
Last updated: 20/07/2026