Need help dealing with violent or distressing online content? Learn more

न्यूरोडाइभर्जेन्ट (स्नायु-विविधता भएको) व्यक्तिको रूपमा अनलाइनमा फस्टाउँदै हुनुहुन्छ (Thriving online when you’re neurodivergent)

न्यूरोडाइभर्जेन्ट हुनु भनेको तपाईंको मस्तिष्कले आफ्नै अनौठो तरिकाले काम गर्नु हो र यो एउटा सबल पक्ष हो। सिक्न, सिर्जना गर्न र जोडिनको लागि इन्टरनेट एक अद्भुत ठाउँ हुन सक्छ, तर यसले चुनौतीहरू पनि निम्त्याउन सक्छ। यो निर्देशिकाले तपाईंको अनलाइन अनुभवहरूलाई सुरक्षित, सहयोगी र सशक्त महसुस गराउने गरी अनुभव गर्न मद्दत गर्नेछ।

'न्यूरोडाइभर्जेन्ट' (स्नायु-विविधता) भनेको के हो?

सबैको मस्तिष्क फरक फरक हुन्छ र यसरी नै सोच्नु पर्छ वा यस्तो नै हुनु पर्छ भन्ने एउटा मात्रै 'सही' तरिका हुँदैन। यदि तपाईं न्यूरोडाइभर्जेन्ट हुनुहुन्छ भने, तपाईं अरूभन्दा फरक तरिकाले सोच्न, सिक्न वा कुराकानी गर्न सक्नुहुन्छ र यो पूर्ण रूपमा स्वीकार्य छ। 

के तपाईंलाई थाहा छ, लगभग ५ मध्ये १ जनालाई न्यूरोडाइभर्जेन्ट हुन्छ? उदाहरणका लागि, उनीहरू अटिस्टिक (अटिजम भएको), डिस्लेक्सिक (भाषा बुझ्न, पढ्न, हिज्जे मिलाउन र अक्षरहरू छुट्याउन कठिनाइ), डिस्प्र्याक्सिक (शारीरिक समन्वयमा कठिनाइ), वा ए.डी.एच.डी. (ध्यान अभाव तथा अति सक्रियता) वा टोरेट सिन्ड्रोम (स्नायु प्रणालीको समस्या) भएका हुन सक्छन्।

अनलाइन हुँदा तपाईंका सबल पक्ष (र चुनौतीहरू)

न्यूरोडाइभर्जेन्ट व्यक्तिका रुपमा अनलाइन अनुभवहरू सकारात्मक र कठिन दुवै किसिमका हुन सक्छन्। आफ्ना सबल पक्ष र चुनौतीहरू बुझ्नाले तपाईंलाई सुरक्षित रहन र थप आत्मविश्वासी महसुस गराउन मद्दत गर्न सक्छ।

तपाईंका सबल पक्षरू निम्न हुन सक्छन्:

  • रचनात्मक सोच र पृथक विचारहरू
  • सशक्त रुचि र ध्यान केन्द्रित
  • इमानदार र खुला हृदय
  • अरूप्रति सहानुभूति र सहयोगी भाव दर्शाउने।

तपाईंका चुनौतीहरू निम्न हुन सक्छन्:

  • सन्देशहरूको भाव वा व्यंग्य बुझ्न कठिनाइ
  • अधिक पाठ्यसामग्रीले गर्दा दिक्क लागेको महसुस हुनु
  • मानिसहरूलाई सजिलै विश्वास गर्ने
  • नकारात्मक वा निराशाजनक विषयवस्तु प्रति धेरै कडा प्रतिक्रिया जनाउनु।

अनलाइन सुरक्षित रहनुहोस्

स्वस्थकर बानीहरू बसाल्नुहोस्

  • विश्रामहरू लिनुहोस्। अनलाइन हुँदा समय अत्यधिक र धेरै छिटो बित्न सक्छ।
  • तपाईंले देख्नुहुने कुराहरु प्रति आलोचनात्मक रूपमा सोच्नुहोस्।
  • पोस्ट गर्नु वा जवाफ दिनु अघि एकछिन रोकिनुहोस्। तपाईंले कुनै पनि जोखिमपूर्ण काम गर्ने सम्भावना कम हुनेछ।
  • कुनै कुरामा अलमलिनु भयो वा तनाव महसुस भयो भने सहयोग माग्नुहोस्।

आफ्नो गोपनीयताको रक्षा गर्नुहोस्

  • कसैलाई राम्रोसँग नचिनेसम्म अनलाइन खाताहरू प्राइभेट राख्नुहोस्।
  • पासवर्ड वा व्यक्तिगत जानकारी साझा नगर्नुहोस्।
  • तपाईंले राम्ररी नचिनेका वा पूर्ण रूपमा विश्वास नगरेका सम्पर्कहरू हटाउनुहोस्।
  • नक्कली खाताहरू वा अनलाइनमा नक्कली व्यक्तिहरुबाट सावधान रहनुहोस्।

सावधानीका संकेतहरू पहिचान गर्नुहोस्

साइबरबुलिङ र अन्य अनलाइन हानिहरूका सावधानी संकेतहरू पहिचान गर्न सिक्नुहोस्। केही हानिकारक व्यवहारहरू पहिचान गर्न गाह्रो हुन सक्छन्। यहाँ केही सावधानीका संकेतहरू छन् जुन तपाईंले देख्न सक्नुहुन्छ:

  • कसैले तपाईंको व्यक्तिगत तस्बिर वा व्यक्तिगत जानकारी साझा गर्न भन्न सक्छन्।
  • कुनै मानिस अरू अर्कै व्यक्तिको रुप लिएका वा नक्कली प्रोफाइल प्रयोग गरेका हुन सक्छन्।
  • तपाईंले राम्ररी नचिनेका व्यक्तिले तपाईंलाई कुराकानीको सिलसिलामा फरक मेसेजिङ एप वा प्लेटफर्ममा आउन दबाब दिन सक्छन्।
  • कसैको उमेर वा कुराकानी उनीहरूको अनलाइनमा देखिने वा गर्ने कुरासँग मेल खाँदैन, विशेष गरी उनीहरूले रोमान्टिक वा यौनिक प्रसङ्ग केलाएको खण्डमा।

साइबरबुलिङ सूक्ष्म तरिकाले पनि देखा पर्न सक्छ। अनलाइन बुलिङका केही सामान्य लक्षणहरू:

  • कसैले तपाईंका पोस्टहरू स्क्रिनसट गरेर लाफिङ इमोजी सहित पुन: साझा गरेमा।
  • कुनै व्यक्ति अनलाइनमा तपाईं बनेर वा तपाईंको नामबाट नक्कली खाता बनाएर चलाएमा।
  • कसैले तपाईंलाई ग्रुप च्याटमा आमन्त्रित गर्छ र त्यसपछि तपाईंसँग नराम्रो व्यवहार गरेमा।
  • तपाईंलाई चोट पुर्‍याउने मिम्स (Memes) वा मजाक उडाउने कुराहरूमा ट्याग गरिदिएमा।

यदि तपाईंले यी मध्ये कुनै पनि यस्ता व्यवहार सामना गर्नुभयो भने, तपाईंले विश्वास गर्न सक्ने व्यक्तिहरू वा सेवाहरूबाट सहायता र सल्लाह लिनु महत्त्वपूर्ण हुन्छ।

तपाईंले अनलाइन प्लेटफर्ममा पनि यस्ता व्यवहार बारे उजुरी दिन सक्नुहुन्छ। ईसेफ्टी (eSafety) निर्देशिकामा विभिन्न मञ्च, एप र वेबसाइटहरूमा प्रेषित हानिकारक सामग्री बारे कसरी उजुरी दर्ता गर्ने भन्ने बारे चरणबद्ध सल्लाह उपलब्ध छ। यदि यी सेवाले सहयोग गरेनन् र गाली गलौछ धेरै गम्भीर प्रकृतिको छ भने, eSafety लाई रिपोर्ट गर्नुहोस्

अनलाइन हुँदा सरल तरिकाले अगाडि बढ्न सघाउने उपकरणहरू प्रयोग गर्नुहोस्।

आफ्नो अनलाइन अनुभवलाई आफू अनुकूल बनाउन प्रयोगकर्ता नियन्त्रक (user controls) र पहुँचयोग्यता (accessibility) जस्ता सुविधाहरूको फाइदा लिनुहोस्। धेरैजसो सामाजिक प्लेटफर्महरू, एपहरू, वेबसाइटहरू र गेमहरूमा तपाईंको विशेष आवश्यकता अनुरुप छनौट गर्न मिल्ने विभिन्न नियन्त्रकहरू (controls) हुन्छन्। तपाईंले गर्न मिल्ने केही उदाहरणहरू यहाँ दिइएका छन्:

  • तपाईंले आफ्नो उपकरणहरूमा मनपर्ने एप र सामाजिक प्लेटफर्महरूमा कति समय बिताउने भन्ने कुराको लेखाजोखा राख्न सहयोग गर्ने स्क्रिन टाइम सीमा तय गर्नुहोस्
  • ध्यान केन्द्रित गर्न रीडिंग मोड वा टेक्स्ट-ओन्ली भ्यूहरू प्रयोग गर्नुहोस्। (तपाईं सामान्यतया आफ्नो ब्राउजर सेटिङहरू मार्फत यसलाई फेरबदल गर्न सक्नुहुन्छ।)
  • आफ्नो ब्राउजरमा स्क्रिन मास्क थप्नुहोस्। यसले सामान्यतया तपाईंलाई एक पटकमा एउटा भाग वा पाठको एउटा अंशमा ध्यान केन्द्रित गर्न तपाईंले काम गरिरहेको विशेष क्षेत्र बाहेकको स्क्रिनलाई मधुरो वा अँध्यारो बनाएर सहयोग गर्छ।
  • आँखाको असर कम गर्न स्क्रिनको चमक समायोजन गर्नुहोस् वा ब्लु लाइट फिल्टरहरू प्रयोग गर्नुहोस्।
  • चमक र संवेदनशीलता कम गर्न 'डार्क मोड' सक्रिय गर्नुहोस्, विशेष गरी कम प्रकाश भएका ठाउँहरूमा।
  • टेक्स्ट मार्फत कुराकानी गर्न सजिलो बनाउन भाव सूचकहरू (tone indicators) को प्रयोग गर्ने प्रयास गर्नुहोस्, जस्तै मजाक जनाउन /j, गम्भीरता जनाउन /srs, वा व्यंग्य जनाउन /s। गलतफहमी कम गर्न तपाईंले आफ्ना साथीहरूलाई पनि त्यसै गर्न लगाउनुहोस्।
  • कम्प्युटर वा उपकरणको स्क्रिनमा पाठ र अन्य कुराहरू ठूलो आवाजमा सुन्न स्क्रिन रिडरको प्रयोग गर्नुहोस् र दृश्यको 'आवाज' बन्द गर्नुहोस्।
  • टेक्स्ट-टु-स्पीच, सिलेबल ब्रेकडाउन र फन्ट साइज, स्पेसिङ र रङको छनोट जस्ता सुविधाहरू मार्फत आफ्नो अनुभव सुदृढ गर्न एक इमर्सिभ रिडरको प्रयोग गर्ने बारे विचार गर्नुहोस्
  • तपाईंलाई असहज वा अप्ठ्यारो लाग्ने समाचारका विषय वा सामग्रीहरु ब्लक गर्नुहोस् वा लुकाउनुहोस्। तपाईंले समाचार एपहरूमा 'Fewer stories like this' वा 'Hide all stories from' जस्ता अन्तर्निर्मित सुविधाहरू प्रयोग गर्न सक्नुहुन्छ, जुन प्रायः तीन थोप्ले मेनुमा छुँदा देखा पर्दछ। केही प्लेटफर्महरूले तपाईंलाई विशेष शब्द वा वाक्यांशहरू समावेश पोस्ट, कमेन्ट, सन्देश र सूचनाहरूमा रोक लगाउन पनि अनुमति दिन्छन्।
  • कोलाहलपूर्ण वातावरणमा ध्यान केन्द्रित गर्न र शान्त रहन मद्दत गर्ने इयर प्लग वा बाहिरी आवाज रोक्ने हेडफोनको प्रयोग गर्नुहोस्

सुरक्षित, सहयोगी समुदायहरू खोज्नुहोस्

तपाईंका अनलाइन स्थानहरू सुरक्षित छन् कि छैनन् भनेर जान्नका लागि यहाँ केही तरिकाहरू उल्लेख छन्:

  • उनीहरूले तपाईंलाई आफ्नो वास्तविक रूपमा रहन दिन्छन्।
  • उनीहरूले तपाईंका सीमाहरूको कदर गर्छन्।
  • उनीहरू दयालु र समझदार हुन्छन्।
  • उनीहरूले अन्यायपूर्ण व्यवहार पीडित मानिसहरूलाई सहयोग गर्छन्।

तपाईंले पनि निम्न कुराहरू गर्न महत्त्वपूर्ण छ:

  • अरूलाई सम्मान गर्नुहोस्
  • फरक विचार भएकाहरू प्रति खुला मन राख्नुहोस्।
  • सुरक्षित भएको खण्डमा मानिसहरूको पक्षमा उभिनुहोस्।

सहयोग कसरी प्राप्त गर्ने?

यो बुझ्नु महत्त्वपूर्ण छ कि तपाईं जतिसुकै उमेरको भएता पनि, यदि तपाईंलाई अनलाइनमा हानि पुगेको अनुभव छ भने तपाईंले सहयोगको लागि सम्पर्क गर्नुपर्छ - चाहे तपाईं १६ वर्ष मुनिको हुनुहुन्छ र यो उमेर-प्रतिबन्धित सामाजिक सञ्जाल प्लेटफर्म मा घटेको घटना किन नहोस्। यदि तपाईंसँग अझै पनि सामाजिक सञ्जाल खाता छ भने पनि तपाईं समस्यामा पर्नुहुने छैन।

यदि तपाईं अनलाइनमा भएको कुनै कुरा वा कसैको बारेमा अनिश्चित हुनुहुन्छ, वा तपाईं तनावग्रस्त, दबाबग्रस्त, भ्रमित, चिन्तित वा असुरक्षित महसुस गर्नुहुन्छ भने, तपाईंले निम्न कुराहरू गर्न सक्नुहुन्छ:

  • यसबारे निम्न विश्वसनीय वयस्कसँग कुरा गर्नुहोस्:
    • आमाबाबु वा काकी
    • हेरचाहकर्ता
    • शिक्षक
    • प्रशिक्षक
    • सामुदायिक सहायताकर्ता।
  • किड्स हेल्पलाइन (Kids Helpline) (५ देखि २५ वर्ष उमेरका लागि) जस्ता परामर्श तथा सहायता सेवा लाई 1800 55 1800 मा वा www.kidshelpline.com.au मा सम्पर्क गर्नुहोस्। यो नि:शुल्क, गोपनीय र २४/७ कुराकानी गर्न उपलब्ध छ।
  • नक्कली तस्बिर वा भिडियोहरू (विशेष गरी यदि यौनजन्य सामग्री भएमा) लगायत हानिकारक वा गैरकानूनी सामग्री तपाईंले देख्नुभएकै प्लेटफर्ममा रिपोर्ट गर्नुहोस्। ईसेफ्टी (eSafety) निर्देशिकामा विभिन्न मञ्च, एप र वेबसाइटहरूमा प्रेषित हानिकारक सामग्री बारे कसरी उजुरी दर्ता गर्ने भन्ने बारे चरणबद्ध सल्लाह उपलब्ध छ।
  • यदि प्लेटफर्मले सहयोग गरेन भने, eSafety.gov.au/report मार्फत ईसेफ्टी (eSafety) लाई रिपोर्ट गर्न सकिन्छ/सकिन्न त्यसको बारेमा बुझ्न कसैको सहयोग लिनुहोस्। ईसेफ्टी (eSafety) ले साइबरबुलिङ, वयस्क साइबर दुर्व्यवहार र तस्विर-आधारित दुर्व्यवहार (देखाइएको व्यक्तिको सहमति बिना अन्तरंग तस्बिरहरू साझा गरिदिने, वा साझा गरिदिने धम्की दिने), का साथै अवैध र प्रतिबन्धित सामग्रीको अनुसन्धान पनि गर्न सक्छ।
  • कमेन्टहरू म्यूट गर्न र तपाईंलाई दबाब वा डराउन दिने जो कोहीको सम्पर्कलाई सीमित गर्न आफ्नो गोपनीयता तथा सुरक्षा सेटिङहरूको प्रयोग गर्नुहोस् - प्लेटफर्ममा रिपोर्ट गरेपछि तपाईंले उनीहरूलाई ब्लक पनि गर्न सक्नुहुन्छ।