Need help dealing with violent or distressing online content? Learn more

१६ वर्षभन्दा कम उमेरकाहरूका लागि सामाजिक सञ्जालमा उमेर हदबन्दी (Social media age restrictions for under-16s)

कानूनमा के छ? 

सामाजिक सञ्जाल कानून अनुसार अनलाइन प्लेटफर्महरूले १६ वर्ष मुनिका अष्ट्रेलियालीहरूलाई सामाजिक सञ्जाल खाता खोल्न अनुमति नदिन उल्लेख गरेको छ।

सामाजिक सञ्जाल प्रतिबन्धहरू फेसबुक; इन्स्टाग्राम; किक; रेडिट; स्न्यापच्याट; थ्रेड्स; टिकटक; ट्विच; एक्स; युट्युब लगायत धेरै प्लेटफर्महरूमा लागू हुन्छन्।

यो कानून किन बनाइयो?

यो कानूनको आशय १६ वर्ष मुनिका युवायुवतीहरूलाई सुरक्षित, स्वस्थ र खुसी राख्नको लागि हो।

धेरै सामाजिक सञ्जाल एपहरूले:

  • मानिसहरूलाई लामो समयसम्म प्रयोग गरिरहने बनाउँछन्।
  • ध्यान खिच्न धेरै सन्देशहरू पठाउँछन्
  • नकारात्मक, निराशाजनक वा फेरबदल गर्ने मिल्ने कुराहरू देखाउँछन्।

सामाजिक सञ्जाल एपहरूमा हुँदा निम्न कुराहरू हुन सक्छन्:

  • मानिसहरू अफलाइन स्वस्थ क्रियाकलाबहरूबाट वञ्चित हुन सक्छन्
  • मानिसहरू परिवार र साथीहरूसँग समय बिताउनबाट वञ्चित हुन सक्छन्
  • विद्यालय वा काममा ध्यान केन्द्रित गर्न गाह्रो बनाउन सक्छ
  • निदाउन गाह्रो बनाउन सक्छ।

कानून तोडियो भने के हुन्छ?

यदि कोही १६ वर्ष मुनिका भए पनि सामाजिक सञ्जाल खाता प्रयोग गरिरहेका छन् भने:

  • उनीहरू समस्यामा पर्ने छैनन्।
  • उनीहरूका परिवार समस्यामा पर्ने छैनन्
  • सामाजिक सञ्जाल एपले ठूलो जरिवाना तिर्नुपर्ने हुन सक्छ।

यसले कसरी काम गर्छ?

  • सामाजिक सञ्जाल प्लेटफर्महरूले उनीहरूका खातावालहरूको उमेर जाँच गर्नुपर्ने हुन्छ।
  • यदि कुनै खातावाला १६ वर्ष मुनिको भएमा, सामाजिक सञ्जाल प्लेटफर्मले उनीहरूको खाता बन्द गर्नुपर्छ।
  • प्लेटफर्मले नयाँ खाता खोल्ने जो कोही १६ वर्ष वा सोभन्दा माथिको छ/छैन जाँच गर्नुपर्छ।
  • प्लेटफर्मले उमेर कसरी जाँच गरिरहेका छन् - यसका चरणहरू, खातावालाहरूले दिनुपर्ने जानकारी, र प्लेटफर्मले जाँच गर्न अर्कै कम्पनीको प्रयोग गरिरहेको छ/छैन लगायतका सबै चिजको व्याख्या गर्नुपर्छ।
  • उमेर जाँचले पहिलो पटक कुनै युवा प्रयोगकर्तालाई ब्लक नगरे पनि, उनीहरू १६ वर्षको उमेर नपुगुन्जेल जुनसुकै बेला आफ्नो खाताको पहुँच गुमाउन सक्छन्।

ईसेफ्टी (eSafety) निर्देशिका मा प्लेटफर्महरूले प्रदान गरेका उमेर जाँच बारे जानकारीका लिङ्कहरू उपलब्ध छन्।

युवायुवतीहरूका लागि सल्लाह सुझाव

खाताको पहुँच गुम्न सक्छ तयार रहनुहोस्

यदि तपाईंसँग अझै पनि सामाजिक सञ्जाल खाता छ भने पनि, तपाईं १६ वर्षको उमेर नपुगुन्जेल जुनसुकै बेला तपाईंले यसको पहुँच गुमाउन सक्नुहुन्छ।

यहाँ केही सुझावहरू छन् जसले तपाईंलाई सम्पर्कमा रहन र तपाईंले राख्न चाहनुभएको चिज सुरक्षित राख्न मद्दत गर्नेछ।

चरण १

कुन एपहरू र मानिसहरू तपाईंका लागि सबैभन्दा महत्त्वपूर्ण छन् भन्ने बारे सोच्नुहोस्।

आफ्ना साथीभाइ र परिवारसँग सम्पर्कमा रहन अन्य तरिकाहरू तय गर्न सहयोग गरिदिन एक विश्वसनीय वयस्कलाई भन्नुहोस्।

आफ्ना साथीभाइ र परिवारसँग सम्पर्कमा रहनुमा निम्न समावेश हुन सक्छन्:

  • अनलाइनको सट्टा उनीहरूलाई व्यक्तिगत रूपमा भेटेर बढी समय बिताउने
  • तपाईंले राम्रोसँग चिन्ने व्यक्तिहरूसँग फोन नम्बरहरू साटासाट गर्ने
  • सामाजिक सञ्जाल बाहेकका अनलाइन स्थानहरूमा नयाँ समूहहरू बनाउने, जस्तै मेसेजिङ एपहरू र गेमहरूमा।

चरण २

प्लेटफर्मले तपाईं १६ वर्षको नहुँदासम्म तपाईंको खाता केहि समयको लागि बन्द गर्नुको सट्टा पूर्ण रूपमा मेटाइदिन सक्छ। त्यसैले तपाईंले सुरक्षित गर्न चाहेका सामग्रीहरू पहिले नै जोगाएर राख्नुहोस्।

तपाईंले राख्न चाहनुभएका सामग्रीहरू डाउनलोड र भण्डारण गर्ने बारे सोच्नुहोस् र मद्दत लिनुहोस्।

यसमा सम्पर्क विवरण, फोटो, भिडियो र सन्देशहरू समावेश हुन सक्छन्।

ठगी (scams) बाट सावधान रहनुहोस्

सावधानी: ठगी गर्ने व्यक्तिले तपाईंलाई उमेरको प्रमाणको नक्कली पत्र बनाएर वा तपाईंलाई १६ वर्ष मुनिको उमेरमा पनि सामाजिक सञ्जालमा पहुँच दिन सकिने बहाना बनाएर तपाईंको पैसा वा व्यक्तिगत जानकारी चोर्ने प्रयास गर्न सक्छन्।

रोक्नुहोस्। सोच्नुहोस्। जाँच्नुहोस्।

  • १६ वर्ष मुनिको उमेरमा पनि पैसा तिरेर सामाजिक सञ्जाल चलाउन सकिन्छ भनेर कसैले भन्छन् भने पनि पैसा नदिनुहोला।
  • तपाईंले पैसा वा अन्य अरू केहि चिज नदिएमा रिपोर्ट गरिदिने धम्की दिने कसैलाई पनि पैसा नदिनुहोला।
  • उनीहरूलाई पासवर्ड नदिनुहोला।
  • उनीहरूलाई तस्बिर वा व्यक्तिगत जानकारी नपठाउनुहोला।
  • स्रोत प्रमाणित गर्न नसकेसम्म लिङ्कहरूमा क्लिक नगर्नुहोस् वा कुनै पनि संलग्नक कागजातहरू वा एपहरू डाउनलोड नगर्नुहोला - ब्राउजर वा एप मार्फत प्रत्येक प्लेटफर्मको 'मद्दत' वा 'सहायता' खण्डमा सिधै जानुहोस्, उनीहरूले सामाजिक सञ्जालमा उमेर हदबन्दी कसरी व्यवस्थापन गरिरहेका छन् भन्ने कुरा पत्ता लगाउनुहोस्।

यदि तपाईं ठगिएमा के गर्ने?

  • आमाबाबु, शिक्षक, दाजुभाइ दिदीबहिनी वा भतिजा भतिजी जस्ता विश्वसनीय वयस्कसँग सहयोग माग्नुहोस्।
  • तपाईं किड्स हेल्पलाइन (Kids Helpline) (५ देखि २५ वर्ष उमेरका लागि, २४/७), हेडस्पेस (Headspace) (१२ देखि २५ वर्ष उमेरका लागि), बियोन्ड ब्लू (Beyond Blue) (सबै उमेरका लागि, २४/७) जस्ता नि:शुल्क र गोपनीय सहायता सेवामा कसैसँग कुरा गर्न सक्नुहुन्छ। तपाईं १६ वर्ष मुनिको भएता पनि र सामाजिक सञ्जालमा सक्रिय भए पनि समस्यामा पर्नुहुने छैन।
  • धम्की दिने र बुली गर्ने जस्ता अनलाइन समस्याहरूको बारेमा के गर्ने भन्ने बारे जानकारी र मार्गदर्शनको लागि ईसेफ्टी (eSafety) को युवाहरूका लागि मलाई मद्दत चाहिन्छ पृष्ठमा जानुहोस्।
  • पछिल्ला ठगीका घटनाहरु र आफूलाई यस बाट कसरी सुरक्षित राख्ने भन्ने बारे थप जानकारीको लागि, अष्ट्रेलिया सरकारको स्क्यामवाच वेबसाइट हेर्नुहोस्।
  • तपाईं IDCare लाई पनि सम्पर्क गर्न सक्नुहुन्छ, जुन एक गैर-नाफामुखी संस्था हो जसले तपाईंलाई ठगीका घटनाहरु, पहिचान चोरी र अन्य साइबर अपराधहरूबाट मुक्त रहन मद्दत गर्न सक्छ।

केही सामान्य ठगीका घटनाहरु (scams)

अरूको पहिचान दुरुपयोग गरेर गरिने ठगी

ठगी गर्ने व्यक्तिले आफू सामाजिक सञ्जाल प्लेटफर्म, प्लेटफर्मको परीक्षण गर्ने अन्य कम्पनी, सरकारी विभाग, वा प्रहरी वा सुरक्षा सेवा जस्ता कानून प्रवर्तन निकायबाट आएको बहाना बनाउन सक्छन्। उनीहरूले तपाईंलाई जरिवाना तिर्नुपर्ने बताउन सक्छन्, वा लिङ्कमा क्लिक गरेर, आफ्नो प्रयोगकर्ता नाम वा पासवर्ड प्रदान गर्न, परिचयपत्रहरू अपलोड गर्न वा आफ्नो भिडियो पठाएर आफ्नो उमेर प्रमाणित गर्न लगाउन सक्छन्। सामाजिक सञ्जालमा अझै पनि सक्रिय रहेका युवायुवतीहरूलाई कुनै जरिवाना तोकिएको छैन। उमेर परीक्षणको बारेमा जानकारीको लागि सधैं ब्राउजर वा एप मार्फत प्रत्येक प्लेटफर्मको 'मद्दत' वा 'सहायता' खण्डमा सिधै जानुहोस्।

खरिद बिक्री ठगीहरू (scams)

ठग (स्क्यामर) ले तपाईंलाई नक्कली परिचयपत्र बनाइदिने वा सिधै चलाउन मिल्ने उमेर-प्रमाणित खाता उपलब्ध गराइदिने प्रस्ताव राख्न सक्छन्। ठग (स्क्यामर) ले तपाईंको व्यक्तिगत जानकारी सङ्कलन गर्न सक्छन् र तपाईंलाई पैसा तिर्न लगाउन सक्छन् वा उनीहरूको लागि केही गरिदिन लगाउन सक्छन्, जस्तै नग्न तस्बिर पठाउन वा अनलाइन यौन क्रियाकलाब गर्न। यसले तपाईंलाई ब्ल्याकमेल गर्ने व्यक्तिद्वारा 'यौन शोषण' वा यौन दुर्व्यवहार गर्ने व्यक्तिद्वारा 'बाल यौन शोषण' जस्ता घटना निम्त्याउन सक्छ।

खाता नियन्त्रणमा लिने ठगी

सामाजिक सञ्जालमा साथी भएको नाटक गरेर ठगी गर्ने व्यक्तिले तपाईंको फोन नम्बर माग्न सक्छन्। उनीहरूले आफ्नो फोन हराएको (वा फोन नभएको) र प्रमाणीकरण कोड प्राप्त गर्न तपाईंको नम्बर प्रयोग गर्न आवश्यक परेको बहाना बनाउन सक्छन्। ठग (स्क्यामर) ले तपाईंको खातामा लग इन गर्न र तपाईंको पासवर्ड परिवर्तन गर्न त्यो प्रमाणिकरण कोड प्रयोग गर्छन्, त्यसपछि तपाईंले आफ्नो खाता माथिको नियन्त्रण पुन: प्राप्त गर्न तपाईंलाई पैसा तिर्न लगाउँछन्।

‘नमस्ते, आमा’ शैलीका ठगीहरू

ठग (स्क्यामर) ले तपाईंको आमाबाबुलाई तपाईं बनेर सन्देश पठाउँछन्। सामान्यतया उनीहरू तपाईंले आफ्नो फोन हराएको, र त्यसै कारण तपाईंले अरू कसैको नम्बर प्रयोग गरेको बताउँछन्। त्यसपछि ठग (स्क्यामर) ले तपाईंका आमाबाबुलाई लिङ्कमा क्लिक गरेर वा तपाईंको पहिचान खुल्ने पत्रको प्रतिलिपि (जस्तै राहदानी, परिचयपत्र र/वा जन्मदर्ता प्रमाणपत्र) पठाएर तपाईंको उमेर प्रमाणित गर्न आवश्यक भएको कुरा बताउँछन्। 

सहयोग कसरी प्राप्त गर्ने?

यो बुझ्नु महत्त्वपूर्ण छ कि तपाईं जतिसुकै उमेरको भएता पनि, यदि तपाईंलाई अनलाइनमा हानि पुगेको अनुभव छ भने तपाईंले सहयोगको लागि सम्पर्क गर्नुपर्छ - चाहे तपाईं १६ वर्ष मुनिको हुनुहुन्छ र यो उमेर-प्रतिबन्धित सामाजिक सञ्जाल प्लेटफर्म मा घटेको घटना किन नहोस्। यदि तपाईंसँग अझै पनि सामाजिक सञ्जाल खाता छ भने पनि तपाईं समस्यामा पर्नुहुने छैन।

यदि तपाईं अनलाइनमा भएको कुनै कुरा वा कसैको बारेमा अनिश्चित हुनुहुन्छ, वा तपाईं तनावग्रस्त, दबाबग्रस्त, भ्रमित, चिन्तित वा असुरक्षित महसुस गर्नुहुन्छ भने, तपाईंले निम्न कुराहरू गर्न सक्नुहुन्छ:

  • यसबारे निम्न विश्वसनीय वयस्कसँग कुरा गर्नुहोस्:
    • आमाबाबु वा काकी
    • हेरचाहकर्ता
    • शिक्षक
    • प्रशिक्षक
    • सामुदायिक सहायताकर्ता।
  • किड्स हेल्पलाइन (Kids Helpline) (५ देखि २५ वर्ष उमेरका लागि) जस्ता परामर्श तथा सहायता सेवा लाई 1800 55 1800 मा वा www.kidshelpline.com.au मा सम्पर्क गर्नुहोस्। यो नि:शुल्क, गोपनीय र २४/७ कुराकानी गर्न उपलब्ध छ।
  • नक्कली तस्बिर वा भिडियोहरू (विशेष गरी यदि यौनजन्य सामग्री भएमा) लगायत हानिकारक वा गैरकानूनी सामग्री तपाईंले देख्नुभएकै प्लेटफर्ममा रिपोर्ट गर्नुहोस्। ईसेफ्टी (eSafety) निर्देशिकामा विभिन्न मञ्च, एप र वेबसाइटहरूमा प्रेषित हानिकारक सामग्री बारे कसरी उजुरी दर्ता गर्ने भन्ने बारे चरणबद्ध सल्लाह उपलब्ध छ।
  • यदि प्लेटफर्मले सहयोग गरेन भने, eSafety.gov.au/report मार्फत ईसेफ्टी (eSafety) लाई रिपोर्ट गर्न सकिन्छ/सकिन्न त्यसको बारेमा बुझ्न कसैको सहयोग लिनुहोस्। ईसेफ्टी (eSafety) ले साइबरबुलिङ, वयस्क साइबर दुर्व्यवहार र तस्विर-आधारित दुर्व्यवहार (देखाइएको व्यक्तिको सहमति बिना अन्तरंग तस्बिरहरू साझा गरिदिने, वा साझा गरिदिने धम्की दिने), का साथै अवैध र प्रतिबन्धित सामग्रीको अनुसन्धान पनि गर्न सक्छ।
  • कमेन्टहरू म्यूट गर्न र तपाईंलाई दबाब वा डराउन दिने जो कोहीको सम्पर्कलाई सीमित गर्न आफ्नो गोपनीयता तथा सुरक्षा सेटिङहरूको प्रयोग गर्नुहोस् - प्लेटफर्ममा रिपोर्ट गरेपछि तपाईंले उनीहरूलाई ब्लक पनि गर्न सक्नुहुन्छ।